लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पण्डित श्रीनिवासमाथि गोली प्रहारमा भारतीय सुटर प्रयोग

सोमबार, ३ बैशाख, २०७५ मा प्रकाशित,

काठमाडौं, वैशाख ३ । पण्डित श्रीनिवासाचार्यमाथि गोली प्रहार गर्न भारतीय सुटरको प्रयोग गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । यस विषयमा प्रहरीले भारतमा गएर अनुसन्धान गरिरहेको छ ।

प्रहरीको विशेष टोलीले भारतको बिहार राज्यका विभिन्न सहरमा पुगेर अनुसन्धान गरिरहेको जनाएको छ । ‘अनुसन्धानमा जुटिरहेका छौँ । कलडिटेलको विश्लेषण गरी भारतीय प्रहरीसँग मिलेर अप्रेसन गर्ने तयारी गरिरहेका छौँ,’ मोरङका एसपी अरुण विसीले भने । त्यसका लागि भारत गएको विशेष टोलीले कलडिटेल पत्ता लगाउने र शंकास्पद व्यक्तिको खोजी गरिरहेको उनले बताए ।

सुनसरीको बराह नगरपालिका–६ चक्रघटीस्थित आश्रममा बस्दै आएका २६ वर्षीय श्रीनिवास भागवत पुराण वाचनका लागि २४ चैतमा विराटनगर आएका थिए । विराटनगर–१४ जतुवास्थित रामजानकी मन्दिरमा २५ चैतदेखि भागवत पुराण सुरु हुने कार्यक्रम थियो । तर, त्यही बिहान उनीमाथि गोली प्रहार भयो । कोखमा गोली लागेका श्रीनिवासको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीको संयुक्त टोली परिचालन

घटनाको अनुसन्धानका लागि प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । मोरङ जिल्ला प्रहरी कार्यालय, धरानस्थित सङ्घीय प्रहरी र विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयको विशेष अनुसन्धान टोलीले परिचालन गरिएको एसपी बिसीले बताए ।

उनका अनुसार प्रदेश १ प्रहरीले पण्डित श्रीनिवासमाथि गोली प्रहार घटनालाई प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको छ ।

तीन गोली हाने : पण्डित

विराटनगरस्थित न्युरो अस्पतालमा उपचार गरिरहेका पण्डित श्रीनिवास होसमा आएका छन् । प्रहरीले उनीसँग बयान लिन सुरु गरेको छ । उनले प्रहरीलाई दिएको बयानमा आफूमाथि तीन गोली प्रहार भएको बताएका छन् । ‘मंगोलियन अनुहारका दुईजनाले तीन गोली हाने । एउटा गोली लागेपछि मोटरसाइकल चढेर भागे,’ श्रीनिवासको भनाइ उद्धृत गर्दै प्रहरीले भन्यो । –नयाँ पत्रिका दैनिकबाट

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework