लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

कांग्रेसमा तत्काल नीति र नेतृत्व परिवर्तन जरुरी छ : प्रदिप पौडेल

शनिबार, ८ पुष, २०७४ मा प्रकाशित,

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसले लज्जास्पद पराजय भोगेपछि पार्टीभीत्र विभिन्न टिकाटिप्पणीहरु भइरहेका छन् । निर्वाचनको गम्भीर समिक्षा हुनुपर्ने, विशेष महाधिवेशन डाकेर नेतृत्व परिवर्तन गर्नुपर्ने साथै संगठनलाई जरैदेखि सुदृढीकरण र सुद्धिकरण गर्नुपर्ने आवाजहरु उठ्न थालेका छन् ।

मुलुकका भएका हरेकजसो क्रान्तिहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेको साथै ऐतिहासिक पृष्ठभूमि भएको पार्टी हाल आएर कमजोर अवस्थामा पुगेको भन्दै युवा नेताहरुले कांग्रेसको पुर्नसंरचना आवश्यक भएको औंल्याइरहेका छन् । यसै शिलशिलामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता प्रदिप पौडेलसँग कांग्रेसले भावी दिनमा अपनाउनुपर्ने कार्यदिशाबारे इमेजकर्मी युवराज गौतमले गरेको संक्षिप्त कुराकानी:

कांग्रेसले यस्तो लज्जास्पद पराजय ब्यहोर्नुको प्रमुख कारण के देख्नुहुन्छ ?

प्रमुख कारण त प्रतिस्पर्धी पार्टी गठबन्धन गरेर आएकाले नै हो । एमाले हाम्रो मुख्य प्रतिस्पर्धी थियो तर माओवादी केन्द्रसँग गठबन्धन गरेपछि केही जटिलता थपिएको हो । कांग्रेसका २४ जना उम्मेदवार तीनहजार भन्दा कम मतले र ३९ जना उम्मेदवार पाँचहजार मतले पराजित हुनुभएको छ । यसमा बाम गठबन्धन प्रमुख कारक हुनपुग्यो । एमाले एक्लै प्रतिस्पर्धामा भएको भए यी सबै ठाउँमा हामी विजयी हुने थियौं ।

तर यतिमात्रले हामी पराजित भएका होइनौं । राष्ट्रियताका मामिलामा हामीलाई एकदमै प्रतिरक्षात्मक बनाइयो । हाम्रो नेतृत्वले जनताका माझमा राष्ट्रवादी कांग्रेसलाई राष्ट्रवादी बनाउनै सकेन । विपक्षीको आरोपबाट प्रतिरक्षात्मक बन्नुपर्ने अवस्था आयो । हाम्रो घोषणा पत्रमा धेरै राम्रा कुराहरु लेखेका छौं तर ति राम्रा एजेन्डाहरु जनताका माझ लानैं सकेनौं । मुलकमा आइपर्ने हरेक संकटमोचन गर्न देखि सबैखाले क्रान्तिहरुको अगुवाइ गरेको पार्टी कसरी यति कमजोर बन्यो । इतिहासमा हामीले गरेको योगदानका बारेमा जनतालाई प्रष्ट पार्न सकेनौं । समृद्धी र विकासका योजनाहरु पनि राम्रोसँग पस्किन सकेनौं ।

हाम्रो नेतृत्वपंक्ती पार्टीको नेता बन्न सकेन, गुटको मात्र नेता बन्यो । गुटको नेता भएर आफ्ना मान्छेका बारेमा मात्र चिन्तित बन्यो तर पार्टीप्रति चिन्तित देखिएन । निर्बाचनमा प्रतिस्पर्धीलाई पछाडी पार्नेगरी प्रभावकारी रणनीति र योजनाहरु ल्याउनै सकेनौं । यी सबै कुराहरु नेतृत्वसँग जोडिएको छ । त्यसैले यी सबै कमजोरीलाई चिर्दै अघि बढनुपर्ने देखिएको छ ।

पार्टीलाई नीतिगत रुपमा प्रभावकारिता, संगठन विस्तारमा प्रभावकारिता, कार्य सम्पादन र योजनाहरु निर्माण गर्न अहिलेको नेतृत्व कसरी सक्षम हुनसक्छ ? उहाँहरुले कसरी कार्यकर्ताहरुलाई चित्त बुझाउन सक्नुहुन्छ ? हामी त त्यस्तो सम्भावना देख्दैनौं । यी सबै काम गर्न नेतृत्व यथावत राखेर कसरी सम्भव हुन्छ ? यसबारे हामी छलफल गरिरहेका छौं । विशेष महाधिवेशन, महासमितिको बैठक बस्नुपर्ने अवस्था आइसकेको छ ।

त्यसोभए पार्टी बलियो बनाउन नेतृत्व परिवर्तन नै अन्तिम विकल्प देख्दैहुनुहुन्छ तपाईं ?

यस विषयमा मलाई के लाग्छ भन्ने कुरा प्रमुख होइन । म जस्ता पार्टीका कार्यकर्ताहरुलाई के लाग्छ, त्यसका बारेमा छलफल जरुरी छ । हाम्रो भनाई भनेको यथास्थीतिमा अब पार्टी चल्दैन । परम्परागत शैलीबाट अब चल्दैन । नयाँ पुस्तालाई सम्बोधन र आकर्षण गर्ने गरी योजना र कार्यक्रमहरु आवश्यक देखिएको छ । यस्ता कार्यक्रम ल्याउन सकिएन भने कांग्रेसप्रति आकर्षण ल्याउन सकिदैंन । बलियो पार्टीको नेतृत्व गर्न त हाम्रा अग्रजहरु पनि तयार हुनुहोला । तर उहाँहरुले नेतृत्व गरिरहेको कांग्रेस कमजोर भयो । त्यसैले अब पार्टीलाई थप बलियो बनाउन नयाँ शीराबाट जान जरुरी छ ।

टिकट वितरणमा गरिएको भागबन्डाले पनि पार्टी कमजोर भयो भनिदैछ, यसको साक्षी त तपाईं पनि हुनुहुन्छ हैन ?

हाम्रो पार्टीको अधिवेशनहरुमा प्रतिस्पर्धाका क्रममा गुट बन्छ । अधिवेशनको प्रक्रिया पार गरेर आइसकेको नेतृत्वले पनि अझ बलियो कसरी बनाउन सकिन्छ भन्नेमा मात्र चिन्तित भएको देखियो । पार्टीबाट प्राप्त अवसर कसरी आफ्ना व्यक्तिलाई दिन सकिन्छ भन्नेमा मात्र नेतृत्व चिन्तित देखियो । यो शैलीको गुटबन्दीबाट पार्टी चल्दैन । यहाँ विचार, योजना र कार्यक्रमबारे मत बाझिएको छैन । अवसर कसलाई दिने र कसलाई नेता बनाउने भनेर मत बाझिएको छ र टिकट दिइएको छ । जित्नेलाई टिकट नै दिइएन् । टिकट वितरणमा बैधानिक व्यवस्थालाई पालना नै गरिएन ।

चुनावमा त संभावना बोकेका भनिएका नयाँ पुस्ताका नेताहरु पनि पराजित हुनुभएको छ, यसमा पनि नेतृत्वलाई मात्र दोष दिइरहने ?

हामी पराजित भयौं । हाम्रो पनि जिम्मेवारी छ । तर यो समग्र प्रक्रिया(टिकट वितरण)मा म सामेल थिईंन । धेरै प्रक्रियाहरु उलंघन गरियो । हामी पराजित हुनुमा पार्टीले प्रभावकारी रणनीति बनाउन सकेन, प्रचार गर्न सकेन । विपक्षीले लगाएका आरोपहरु चिर्न सकेन । त्यतिमात्र नभई मेरो पनि कमजोरी होलान । यसका लागि छलफल गरी निस्कर्ष निकाल्नु जरुरी छ ।

नेपालमा कानुनी शासन हुनुपर्छ, विधीको शासन हुनुपर्छ भनेर लडेको पार्टी हो कांग्रेस । तर कांग्रेस भित्र नै विधी भन्दा ब्यक्ति हाबी भएको देखियो । त्यसैले यो परम्परागत शैली, मान्यता र सोच परिवर्तन जरुरी छ ।

त्यसोभए अब कांग्रेस बलियो बनाउन नेतृत्व मात्र परिवर्तन गर्नुपर्ने देख्नुभएको हो ?

नेतृत्व परिवर्तन मात्र गरेर हुँदैन । नीतिगत सुधार जरुरी छ । कार्यसम्पादन देखि मनोविज्ञान पनि परिवर्तन जरुरी छ । यी सबै काम गर्न परम्परागत नेतृत्वबाट सम्भव छैन् । पार्टी पुर्नगठन हुनु जरुरी छ । योजनागत रुपमा प्रष्ट हुनु जरुरी छ । नीति, सिद्धान्त, योजना र कार्यक्रम प्रगतिशील साथै समयसापेक्ष बनाएर सोही अनुरुपको नेतृत्व आवश्यक छ ।

Pradip-2

यदि तपाईंहरुको पुस्ताले नेतृत्व पायो भने संगठन बलियो हुन्छ भन्ने आधार चाहिं के ?

अघिल्लो पुस्ता हाम्रो अभिभावक बनिदिनुहोस । हामीलाई शुभेच्छा, आर्शिवाद दिनुहोस भन्ने हो । कसैलाई अपमान गर्न चाहेको होइन, कसैलाई पार्टी बाहिर लान खोजेको होइन । तर नयाँ शिराबाट अघि बढ्न अभिभावकत्वको खाँचो छ ।

कम्युनिष्ट पार्टीले शासन चलाए भन्ने ‘अधिनायकबाद’ आउँछ भनेर प्रचार गरिएको छ, यो कतिको सम्भव छ ?

एमाले पार्टी २०४७ देखि नै संसदीय र बहुदलीय ब्यवस्था स्वीकार्दै आएको हो । एमालेकै तहमा अभ्यास र स्वीकारोक्ती नभएको पार्टी माओवादी केन्द्रसहितको गठबन्धन बन्यो । दुवै पार्टी कम्युनिष्ट भएर मिलेको हो । संविधान कार्यान्वयन गर्न पनि गठबन्धन बनेको होइन, कम्युनिष्ट बलियो बनाउन मिलेका हुन् । त्यसैले हामीलाई अझै शंका लागिरहेको छ । उहाँहरुको कार्यशैली हेर्न बाँकी छ ।

कांग्रेसले पनि बीपीले देखाउनुभएको बाटो विर्सियो भन्ने आरोप छ नी ?

म र मजस्ता केही कांगेसहरुले पार्टीलाई ‘सेन्टर लेफ्ट’ बनाउन खोजेको हो । प्रगतिशील विचारलाई अंगिकार गर्न खोजेको हो । गरिबमुखी, निमुखामुखी र समाजवादी पार्टी बनाउन खोजेको हो । सबै नागरिक समान हुनुपर्छ र सबैले अवसर पाउनुपर्छ भन्ने हाम्रो अवधारणा हो । तर हाम्रै कांग्रेस भित्र पनि पूर्ण पूँजीवादको बाटोमा लानुपर्छ भन्नेहरु पनि हुनुहुन्छ । हामी भित्र पनि यस्ता द्वन्द्व छँदैछन । हामीभित्र यसबारेमा बैचारिक बहस नै कहिले हुन सकिरहेको छैन् ।

बीपी कोइरालाका पालामा जति प्रतिबद्ध कांग्रेस थियो अहिले छैन, यो हामीले स्वीकार्नुपर्छ । कांग्रेसभित्रको गुटबन्दी बैचारिक धरातलमा उभिएर नभइ ब्यक्तिवादी सिद्धान्तमा आधारित छ । तर हामी कांग्रेसलाई बीपीका विचारहरुलाई अंगिकार गर्दै समयसापेक्ष परिवर्तन गर्ने अभियानमा छौं ।

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework