लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

महाभारतकी कुन्ती-२२

बुधबार, १६ फागुन, २०७४ मा प्रकाशित,

हरिविनोद अधिकारी/ जीवन भनेको भोगाइ रहेछ । जस्ले जस्तो भोग्यो, त्यस्तै धारणा बन्दो रहेछ । मलाई बाहिरबाट सबैले शान्त देख्छन्, धैर्य देख्छन् , खुसी देख्छन् र संयमित देख्छन् । छोरा बुहारी वनबास जाँदा पनि जसले वनबास पठायो, उसैको दरबारमा आरामासँग बसेको पनि देख्नेको कमी भएन । तर म कस्ती छु भनेर मलाई मात्र पो थाहा हुन्छ त ? मलाई कति पिर परेको थियो र कसरी भुुसभित्र आगोलाई छोपेर राखेकी थिएँ भनेर मलाईमात्र पो थाहा थियो त । तर जे देख्छन्, त्यही त भन्छन् होला ।

हरिविनोद अधिकारी/

जीवन भनेको भोगाइ रहेछ । जस्ले जस्तो भोग्यो, त्यस्तै धारणा बन्दो रहेछ । मलाई बाहिरबाट सबैले शान्त देख्छन्, धैर्य देख्छन् , खुसी देख्छन् र संयमित देख्छन् । छोरा बुहारी वनबास जाँदा पनि जसले वनबास पठायो, उसैको दरबारमा आरामासँग बसेको पनि देख्नेको कमी भएन । तर म कस्ती छु भनेर मलाई मात्र पो थाहा हुन्छ त ? मलाई कति पिर परेको थियो र कसरी भुुसभित्र आगोलाई छोपेर राखेकी थिएँ भनेर मलाईमात्र पो थाहा थियो त । तर जे देख्छन्, त्यही त भन्छन् होला ।

मेरो मनमा उठेको विषादको ज्वारले कहिले पनि भाटाको रुप ग्रहण गरेकै छैन तर म शान्त देखिएकी थिएँ होला । यो समाजलाई देखाउन पनि भयो होला । आफ्नो दोहोरो अनुहारको अवस्थालाई आत्मसात गर्दै सामाजिक मनोविज्ञान र व्यक्तिगत मनोविज्ञान मिल्छ कि मिल्दैन भनेर एकदिन मैले व्यासजीसँग सोधेकी थिएँ । उहाँ त सर्वज्ञानी, त्रिकालज्ञ र महान मनोवैज्ञानिक भएकाले होला, उहाँले मलाई विषादले पुर्‍याउन सक्ने हानिका वारेमा चिकित्सकीय धारणा पो राख्न थाल्नुभयो । उहाँले मेरा सबै अवस्थाको विश्लेषण गर्नु भएको रहेछ तर केही पनि बोल्नु भएको थिएन ।

उहाँलाई मेरो जन्म, मेरो लालनपालन अनि मेरो कुमारी अवस्थामा जन्मेको बच्चाका वारेमा पनि सबै थाहा रहेछ । म त छक्क परेँ किनभने आफ्नो प्यारो छोरो पाण्डुको विवाह किन मसँग गर्न अनुमति दिनुभयो होला या मेरो स्वयंवरमा गएर मलाई विवाह गर्न किन प्रोत्साहित गर्नु भयो होला जबकि उहाँलाई म कुमारी आमा भएको थाहा रहेछ । सायद उहाँलाई मैले नियोग गरेर चन्द्रवंशी राजसत्ताको संरक्षण गर्ने कुराको आभास उहाँमा रहेछ भविष्यवेत्ताको रुपमा । त्रिकालदर्शी महात्माका रुपमा । सिद्धहस्त समाज वैज्ञानिकका रुपमा ।

व्यासको खास नाम त कृष्ण नै हो जुन मेरो भदाहाको नाम पनि हो । कृष्ण द्वैपायन भनिएको त नदीको भँगालोले बनाएको द्वीपमा सत्यवती र पराशरको समागमबाट जन्मिएकाले द्वैपायन भनियो । द्वीपमा जन्मिएका कृष्ण । नाम कृष्ण राखिएको उनको शरीरको रङ् कालो भएकाले पनि हुनसक्छ तर व्यास पदवी पाएपछि भने उहाँको नाम कृष्णभन्दा व्यासको नामले नै प्रचलित भयो ।

व्यास परम्परामा उहाँका पिता पराशर पनि व्यास परम्पराका एकजना व्यास हुनुहुन्थ्यो । पराशर र कृष्णका बिचमा एकजना अर्का जातुकर्ण नामका व्यास पनि हुनुहुन्थ्यो रे । कसैले पराशरका छोरा हुन् कि भन्थे र कसैले पराशरका भाइ हुन् कि पनि भन्थे । वशिष्ठ , शक्ति , पराशर र कृष्ण व्यास पदवी लिने गुरुजन भएकाले जातुकर्ण पनि त्यही परिवारका हुनुपर्छ भनिएको रे । वशिष्ठ, शक्ति, पराशर र कृष्ण एकै परिवारका चारपुस्ताका बुढाबाजे, बाजे, बाबु र छोरा थिए । कृष्णको कुरा गर्दा पराशर पुत्र कृष्ण, वसुदेव पुत्र कृष्ण र पाण्डु पुत्र कृष्ण अर्थात् अर्जुन गरी मेरा वरिपरि परिवारमा नै तीन कृष्णहरु थिए । तीनओटै कृष्ण मेरालागि स्तरअनुसारका माया र श्रद्धाका पात्रहरु थिए । भनिन्छ, तीनओटा कृष्णले जे चाह्यो , त्यही हुन्छ भन्न पनि थालिएको थियो , त्यसको कारण थियो अर्जुन नरको अवतार, कृष्ण नारायणको अवतार र कृष्ण द्वैपायन सांसारिक प्रचलनको व्याख्याताको रुपमा व्यासको रुपमा अवतरित अवतार । कसैले व्यासलाई शिवको रुप पनि भन्थे, कसैले विष्णुको स्वरुपमा देख्थे त कसैले साक्षात् सरस्वतीका वरद्पुत्रका रुपमा मान्दथे । जे होस्, हाम्रा पुस्ताका व्यास, भगवानकै अवतार हुनुहुन्थ्यो र ती सौभाग्यवश मेरा भौतिकरुपमा ससुरा नै पर्नुभयो । मेरा पतिका पर्दाभित्रका तर असली पिता । पर्दा बाहिर र लौकिक पिता विचित्रवीर्य हुुनुहन्थ्यो जसको अंश धृतराष्ट्र, पाण्डु र विदुरमा पटक्कै थिएन तर पनि दुनियाँलाई अनवरत चन्द्रवंशीको शासन देखाउन पनि विचित्रवीर्यका रानीहरुबाट र नानीबाट जन्मिएका सन्तानका रुपमा संसारलाई परिचित गराइएको थियो । धन्य, व्यास जसले कुनै पनि कुरा नलुकाई दुनियाँलाई बताउनु भयो कि सत्य के हो र किन त्यो नाटक गरियो । जनताले त्यसलाई माने र आजसम्म पनि त्यही नासोको रुपमा युधिष्ठिर राजा भइरहेका छन् र उनको शेषपछि पक्कै परीक्षित राजा हुनेछन् यो साम्राज्यको ।

मलाई व्यासजीले नै बताएअनुसार र ऋषि पराशरले गणना गरेर बताएको भनी व्यासले नै भने अनुसार पहिलो व्यासको नाम ब्रह्मा थियो रे । ब्रह्मा स्वयं सृष्टिकर्ता ब्रह्मा हुन् कि पहिलो व्यास भएकाले ब्रह्मा नाम दिइएको हो वा उहाँको नाम नै ब्रह्मा थियो, त्यसबारेमा व्यास कृष्णले खासै अथ्र्याउन चाहनु भएन र भन्नुभयो-कुन्ती , तिमी यत्तिमात्र थाहा पाइराख, यो गुरु परम्परा हो । गुरु स्वयं भगवान हो र सबैका सृष्टिकर्ता ब्रह्माजी हुनुहुन्छ । ब्रह्माजीलाई आदि व्यास माने पनि या कुनै व्यासको नाम ब्रह्मा राखे पनि यो गुरु परम्परा थियो जुन चलिआएको छ । कुरो कल्प र समयको व्याख्याको हो । कुन समयमा कसरी समाजलाई दिग्दर्शन गर्ने भन्ने व्यवस्थाको जिम्मा लिने व्यक्ति नै व्यासको दायित्वमा रहने रहेछ । पराशर हुँदै जातुकर्ण र कृष्ण द्वैपायनले व्यासको पदवी ग्रहण गर्नुभएको हो । कृष्णको समयमा नै अश्वत्थामालाई व्यासको पदवी दिने कुरा थियो , सायद अश्वत्थामाको बिग्रिएको मानसिक स्वास्थ्यको कारणले दिइएन कि ? स्पष्ट भएन । र म यो सोचिरहने बेलासम्म पनि कृृष्णले नै व्यासको दायित्व पूरा गरिरहनु भएको सुनिएको छ । बेला मौकामा महाराज धृतराष्ट्र, महारानी गान्धारी र मेरो अवस्था बुझ्न आउँदा व्यासकै पदवी र सम्मानमा आउने गर्नु भएकाले उहाँ रहुन्जेल अर्को व्यासको पदवीधारी सम्भवतःनहोला कि ?

यसरी पहिलो व्यासका रुपमा ब्रह्मा, त्यसपछि दोस्रोमा प्रजापति, तेस्रोमा शुक्राचार्य,चौथोमा वृहस्पति,पाँचौँमा सूर्य, छैटौँमा मृत्यु , सातौँमा इन्द्र, आठौँमा वशिष्ठ, नवौँमा सारस्वत,दसौँमा त्रिधामा, एघारौँमा त्रिशिख, बाह्रौँमा भरद्वाज, तेह्रौँमा अन्तरिक्ष, चौधौँमा वर्णी, पन्ध्रौँमा त्रय्यारुण, सोह्रौँमा धनञ्जय, सत्रौँमा ऋतुञ्जय, अठारौँमा जय, उन्नाइसाँैमा भरद्वाज, बिसौँमा गौतम, एक्काइसौँमा हर्यात्मा, बाइसौँमा वाजश्रवा, तेइसाँैमा तृणविन्दु, चौबिसौँमा ऋक्ष अर्थात् बाल्मीकि, पच्चिसौँमा शक्ति, छब्बिसौँमा पराशर, सत्ताइसौँमा जातुकर्ण तथा अठ्ठाइसौँमा कृष्ण द्वैपायन अर्थात् द्वीपमा जन्मिएका कृष्ण अनि उनन्तिसौँमा अश्वत्थामाको नाम प्रस्तावित गरिएको रहेछ । एउटा प्रसङ्गमा पराशरले मैत्रेयलाई भन्नुभएको रहेछ के भने यो अहिलेको व्यास कृष्ण जो छ, त्यसलाई नारायणको अवतार नै मान्नुपर्छ किनभने कृष्णको अवतारको व्याख्या गर्न जो कोहीले सक्ने कुरै भएन, त्यो मात्र व्यासासनमा बसेको यही कृष्णले मात्र गर्नसक्छ ।

महर्षि व्यासलाई एकदिन प्रसङ्गविना नै मैले कृष्णप्रतिको उहाँको भावना बुझ्न केही कुरा भन्न के आँटेकी थिएँ, उहाँले मलाई प्वाक्क भन्नुभयो-कुन्ती, यो कल्पमा म कृष्णको भक्तिगानका लागि अवतरित भएको हुँ । मेरालागि नर र नारायण एकै हुन् । अर्जुन नरको अवतार हो र कृष्ण नारायणको अवतार हुनुहुन्छ । स्वयं नारायण यहीँ अवतरित हुनु भएको छ। उहाँको सम्पूर्ण कलाको व्याख्या गर्नका लागि मेरो उत्पत्ति भएको हो र मलाई व्यासको आसनमा राखिएको हो । समाजलाई नयाँ युग र नयाँ कल्पनाको परिवर्तित नयाँ बाटो बनाउनका लागि अवतरित भएका श्रीकृष्णको प्रचार र प्रभावको आँकलन गरेर दुनियाँ र भविष्यलाई सम्झाउन मेरो जन्म भएको हो ।

यदि मैले यो काम गर्न सकेँ भने मात्र यो जुनी मेरो सफल हुनेछ । वाह व्यासजी, मेरो मनमा अचानक उब्जिएको भावनासमेत उहाँमा प्रकट भएर त्यस्को जबाफ पनि मलाई दिनु भएको थियो । वास्तवमा मलाई सुरु देखि नै कृष्णको वारेमा विश्वास थियो कि यो केटो संसारको तारणहार हो र अर्जुनको जन्मको बेलामा पनि मलाई भनिएको थियो अर्जुनको विशेषताका वारेमा । सबैका विशेषतासहित मैले र माद्रीले छोराहरु जन्माएका थियौँ तर सबैभन्दा बढी विशेषता अर्जुनका वारेमा बताइएको थियो । तर पनि महाराज पाण्डुलाई पृथ्वीका कुनै वीरवर नरेशका सन्तान पाउने लालसा थियो वा कुनै ऋषिको तर्फबाट नियोग गरियोस् भन्ने पनि थियो । स्वयं पाण्डु कृष्ण द्वैपायनको नियोग विधिबाट जन्मिएकाले त्यस्तै नियोग विधिले धुरन्धर योद्धा वा विश्रुत ब्राह्मणबाट राज्याधिकारी तयार गरौँ भन्ने उहाँलाई थियो । तर नियोग विधिबाट तीनजनासम्ममात्र पाउने एउटा मानक थियो । मेरो भित्री कुरा चार ओटा छोरा भइसकेका थिए र माद्रीलाई यत्ति हतार थियो कि एकैपटक जुम्ल्याहा बच्चा पाएर छिटो छिटो यो संसारको लोकाचार पूरा गर्नुृ थियो जस्तै लाग्यो पछिको कालक्रममा भएका घटना परिघटनाहरुले ।

विभिन्न कल्प र समयमा व्यासहरुका काम सम्पन्न भए । समाजको हित गर्नका लागि जुन सकारात्मक स्वरुप तयार गरिएको हुन्छ, त्यसैलाई अवतारको रुप मानिएको हो । त्यसको सबैभन्दा गहकिलो काम कृष्ण द्वैपायनबाट नै सम्पादित भएको देखिन्थ्यो । मलाई आफ्ना ससुरा , अभिभावक तथा मार्ग निर्देशक भएर त्यस्तो लागेको पनि हुनसक्छ , अथवा उहाँका कामहरुप्रति भावनात्मक सम्बन्ध गाँसिएर पनि हुनसक्छ ।

यो अन्त्यकालमा मलाई जेठाजुका सयभाइ छोराहरु र उनका सबै सन्तानको सम्झना आइरहेछ । झन् कर्णको त कुरै भएन । कर्णको सन्तानको रुपमा रहेको मेरो प्यारो नाति वृषकेतु । महाभारतको महायुद्धमा नाबालिग भएकाले बचेको वृषकेतु जुन कर्ण बराबरको योद्धाको रुपमा पाण्डवहरुको सहकर्मी भएर बसेको छ , अहिले उस्को पनि याद आइरहेको छ । मेरा पाँचभाइ छोराहरुका सबै छोराहरु युद्धमा मारिए । बाँकी भनेको त्यही बभ्रुबाहन हो जो अहिले पनि मणिपुरमा राज्य गर्दैछ । युधिष्ठिर, कृष्ण तथा हनुमान, अर्जुनसँग पनि युद्ध गर्न सक्ने क्षमता राख्ने महावीर मेरो नाति बभु्रबाहन, यक्ष सन्तति भएकाले उसलाई मातृकुलको रक्षार्थ मात्र मान्यता दिइएको थियो ।

पाण्डवहरुको आधिकारिकरुपमा विवाहित तर्फकी द्रौपदीबाट जन्मिएका सबैलाई गुरुपुत्र द्रोणीले मारे र अरु क्षत्रिणीहरुबाट जन्मिएकाहरु प्नि सबै त युद्धमा मारिए । युधिष्ठिरको पनि शैव्य नरेशकी छोरी देिवकाबाट जन्मिएको छोरो यौधेय, कसैले देवक पनि भन्थे, त्यो पनि युद्धमा नै मारियो । द्रौपदीबाट जन्मिएको युधिष्ठिरको छोरो जो ठ्याक्कै युधिष्ठिर जस्तै थिया प्रतिविन्द्य जसलाई द्रोणीले युधिष्ठिर भनेर मारेछन् । भीमले हिडिम्बासँग विवाह गरेपछि जन्मिएको घटोत्कच त मारिएको सबैले थाहा पाए किनभने ऊ अत्यन्त राम्रो सत्यवादी र लडाकु थियो, कर्णको अचुक अस्त्रको मारबाट मारिएको थियो । भीमको पनि अर्की रानी जलन्धराबाट जन्मिएको सर्वत्रात नामको महावीर छोरो थियो, त्यो पनि त्यही युद्धमा मारियो । द्रौपदीबाट जन्मिएको भीमको सुतसोम नाम गरेको भीमजस्तै देखिने मेरो नाति त द्रौपदीका अरु छोराहरुसँगै गुरुपुत्रले मारेछन् ।

अर्जुनले द्रौपदीबाहेक मेरी भदै कृष्णकी बहिनी सुभद्रासँग पनि बिहे गरेको थियो , उसबाट जन्मिएको अभिमन्युलाई त , सात महारथीहरुले निहत्था मेरो महाबली युवा नातिलाई मारेछन् जस्को नेतृत्व दुःशलाका पति जयद्रथले गरेका थिए । त्यसबाहेक द्रौपदीबाट जन्मिएको भगवान इन्द्रजस्तै सुदर्शन र भगवान शिवजस्तै लडाकु मेरो नाति श्रुतकीर्ति बाहेक शेषनागकी पुत्री नागकन्या उलूपीबाट जन्मिएको इरावानको पनि महाभारतको युद्धमा नै वीरगति प्राप्त भएको थियो । बाँचेको भनेको त्यही बभ्रुबाहन हो अर्जुनको छोरोमा जुन चित्राङ्गदा रानीबाट जन्मिएको हो । उसले मातृकुलतर्फको मणिपुरको राज्य चलाएर बसेको छ । त्यसैगरी नकुलको पनि द्रौपदीबाट जन्मिएको छोरो सतनीक र रानी करेणुमतीबाट जन्मिएको निरमित्रको पनि महाभारतको युद्धमा नै वीरगति प्राप्त भएको थियो । यसैगरी सहदेवको द्रौपदीबाट जन्मिएको छोरो श्रुतकर्मण र रानी विजयाबाट जन्मिएको छोरो सुहोत्रको पनि अकालमा नै त्यही युद्धमा वीरगति प्राप्त भएको थियो । सहदेवको र अर्जुनको उस्तै उस्तै भएको हो । जसरी सुभद्रा मेरो दाइकी छोरी हो , त्यस्तै विजया पनि माद्रीको दाइ राजा द्युतिमतकी छोरी हुन् । अहिले बाँचेकामा जेठाजुको वैश्यापुत्रको रुपमा युयुत्सु र गान्धारी दिदीतर्फकी छोरी दुःशलामात्र बाँकी रहेका हुन् । दुःशलाको पनि पति जयद्रथलाई अर्जुनले अभिमन्युको हत्या गरेको भनी बदला लियो र मारेको थियो ।

अहिले बाँचेको भनेको त्यही अभिमन्यु र उत्तरापुत्र परीक्षित हो जो चन्द्रवंशी राज्यको विस्तारका लागि आशाको केन्द्रविन्दुको रुपमा अवशेष रहेको छ । भन्न त व्यासले मलाई जहिले पनि भन्नुहुन्थ्यो —तिमी धेरै चिन्ता नगर, यो कुरुवंशको राज्यतन्तुलाई संरक्षण गर्दै सजीव बनाएर भविष्यसम्म लैजाने तिम्रै सन्तानले हो । एउटी राजमाताका लागि त्यो भन्दा अर्को खुसी के हुनसक्छ र ? म त्यही भविष्यवाणीको भरमा सदैव बाँचेकी हुँ र आजसम्मको दिनचर्या त्यसैले निर्देशित गरेको छ । अब त कति पो बाँचुली र ? तर खोइ किन हो, अब मर्ने कुरासँग पनि कुनै डर लागिरहेको छैन र मरेपछि कहाँ कसरी पुगिएला भन्ने नयाँ जिज्ञासामात्र मनमा उठिरहन्छ । वास्तवमा कस्तो होला स्वर्ग ? अनि नर्क ? होला कि नहोला ? धर्मको परिभाषासँग स्वर्ग र नर्कको आश र त्रास सँगै रहन्छ । त्यसो भए के हो त स्वर्ग ? के हो त नर्क ? यो सबै लेख्ने , भन्ने व्यासकै विचारमा पनि स्वर्ग र नर्क यहीँ छ , खालि अर्थान्तर कसरी हुन्छ भन्ने मात्र हो रे । जीवनलाई कसरी परिभाषित गर्ने भन्ने कुरामा सदैव विवाद देखिन्छ ।

व्यासका विभिन्न अवतारहरुमा पनि जीवनलाई अथ्र्याउने तरिका फरक फरक पाइएका छन् । कहिलेकाहीँ युधिष्ठिरले जिज्ञासा राख्छ मसँग-माता, तपाईँलाई हामीले किन सुख दिन सकेनौँ वा सुखी देख्न पाएनौँ ? उसले के विचारले भन्यो र मैले सुख केलाई मानेँ भन्ने पनि उसले कहिल्यै सोधेन । मेरालागि सुख भनेको सन्ततितन्तुको विकास हो जुन अहिले परीक्षितको अवतारमा मेरो दरबारमा हुर्किरहेको छ । बभ्रुबाहन हो जो मणिपुरमा राज्य गरिरहेको छ । वृषकेतु हो जो हस्तिनापुर दरबारमा कर्णको सट्टा राज्यको शासनमा आफ्नो सहभागिता देखाइरहेको छ विना पूर्वाग्रह,विना सङ्कोच । जेठाजु पुत्र युयुत्सुले पनि राज्यका अरु पालक झैँ सहृदयी भएर पाण्डवलाई सधाइरहेको छ, युधिष्ठिरको सल्लाहकार भएर बसेको छ । अरु त के चाहियो र ? चिरञ्जीवी भएर बाँच्न चाहेका द्रोणीको हालत त्यस्तो छ विक्षिप्त भएर बाँच्नु परेको छ बाँकी जीवन बोझको रुपमा । न काल आउँछ , न कसैले माया नै गर्छन्, जीवन कहिल्यै समाप्त नहुनेगरी आशीर्वाद प्राप्त छ । त्यस्तो अमरत्व भन्दा त मेरो नाति अभिमन्युको वीरगतिले इतिहासमा नाम लेख्ने छ र भविष्यमा पनि उस्को वीरताको वयान हुनेछ । गुरुपुत्रको क्षमता, वीरता र दक्षताको कदर कहाँ भयो त आफैँमा ?

जब म सम्झन्छु अश्वमेध यज्ञका लागि श्यामकर्णे घोडा लिएर अर्जुन, वृषकेतु , अनिरुद्र, सात्यकी आदि वीरहरु घोडासँग विश्वविजय गर्दै हिँडेका थिए जसको उद्देश्य भनेको धन पनि जम्मा गर्ने अनि राज्यको पनि विस्तार गर्ने थियो । वास्तवमा त्यो अश्वमेध यज्ञ गर्नुपर्ने कारण थियो पापबाट मुक्ति । पाप त भएकै थियो युद्धको विभीषिकामा । मारिएकै थिए स्वजनहरु स्वजनहरुबाटै । बाँचेकाले त्यसको प्रायश्चित गर्नु जरुरी थियो । युधिष्ठिरमा त्यो ग्लानि र कुण्ठा अत्यन्त सुरक्षित भएर बसेको थियो । युधिष्ठिरलाई न त राज्य प्राप्तिका खुसी थियो, न त राज्यको वागडोरमाथि कुनै नियन्त्रणको वासना नै बाँकी थियो । थियो मात्र मोक्षको कामना र पापको प्रायश्चितको भावना । तीब्र भावना पापमोचनको । त्यसका लागि पुर्खाले गरेजस्तै अश्वमेध यज्ञ गरेर पापबाट मुक्त पाउने र मोक्षको बाटो तयार गर्ने युक्तिका लागि अश्वमेधको तयारी जरुरी मानिएको थियो । त्यसैका लागि अर्जुनको नेतृत्वमा सम्पूर्ण तयारी हुँदै थियो ।
अश्व छोडियो निधारमा एउटा सूचना टाँसेर । अनि त्यो अश्वको निरन्तर चलायमानको अनुगमन र रक्षा गर्ने जिम्मा अर्जुनहरुको थियो । तिनीहरु मणिपुरमा पुग्दाको कथा जब सम्झन्छु , यत्तिबेर पनि कहाली लागेर आउँछ —अर्जुन र बभ्रुबाहनका बिचको लडाईँ र अर्जुनको वधसमेत भएको त्यो घटना । क्रमशः...

 

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework