लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

मानन्धर समुदाय र पुख्र्यौली पेशा

बिहीबार, २७ पुष, २०७४ मा प्रकाशित,

-केके मानन्धर/ सायमि वा मानन्धरको सन्दर्भ: सायमि समुदायलाई मानन्धर पनि भनिन्छ । अनुसन्धानकर्ता जीतबहादुर मानन्धरले नेपालभाषामा प्रकाशित गर्नुभएको “मानन्धर व साय्मि” शिर्षकको लेखमा मानन्धर समुदाय सम्बन्धिका तथ्य प्रष्ट रुपमा प्रस्तुत गर्नुभएको छ । ने. सं. ४९६ सालमा जगत मानन्धुरले “वंता क्षेत्रया चपाह्र दयेकूगु” अर्थात पश्चिम क्षेत्रमा भौतिक संरचना निर्माण गर्नुभएको सन्दर्भ गोपालराज वंशावली छ । ने. सं. ४८५ सालमा जयार्जुनदेवको शासनकालमा आश्विन शुक्ल नवमीको दिन लेखिएको ताडपत्र र तत्कालिन बनेपाका अमरसिं मान्धुरको जमिन सम्बन्धिको लिखत मानन्धर समुदायको आज सम्म भेटिएका मध्ये सबभन्दा पुरानो अभिलेख भएको उहाँले दाबी गर्नुभएको छ । यस तथ्यमा इतिहासकार डा. महेशराज पन्तले पनि आफ्नो लेख/रचनामार्फत प्रष्ट्याउन खोज्नुभएको छ ।

 तत्कालिन अवस्थामा सायमि समुदायलाई मान्धुर, मानधरी, मानधर मात्र नभएर सालमि र साःमि जस्ता अन्य फरक शब्दले पनि पुष्ट्याउन खोजेको देखिन्छ । ग्रीसमा मिलान्धर समुदाय बस्ने र नेपालका मानन्धरसँगको नश्ल उनीहरुसँग मेल खाने सन्दर्भ एक समय चर्चामा आएको थियो । केन्द्रीय मानन्धर संघ तथा अन्य संस्थाहरुको अगुवाइमा यसलाई पुष्ट्याउने पहल पनि भएको थियो सायद, तर मलाई यस विषयमा अधिक ज्ञान भएन । खैर यो अनुसन्धानको विषय हुनसक्छ ।

तत्कालिन श्री ३ महाराज जङ्गबहादुर राणाजीको इतिहासमा साय्मिलाई सालमिको संज्ञा दिइएको छ । पुरुषोत्तम शम्सेर राणाले प्रकाशित गर्नुभएको “श्री ३ हरुको इतिवृत्तान्त” किताबमा उन्नाइसौं शताब्दीको पूर्वाद्धमा धर्मनारां सालमि नाम गरेका कान्तिपुरका महाजनले जङ्गबहादुर कुवरलाई ऋण दिएको उल्लेख छ । जङ्गबहादुर श्री ३ महाराज हुनु पूर्व धर्मनारां सालमिले दिएको ऋण चुक्ता गर्न नसक्दा उहाँ भूमिगत हुनु परेको सन्दर्भ इतिवृत्तान्तमा उल्लेख छ ।

जङ्गबहादुर श्री ३ महाराज भएपश्चात धर्मनारां सालमिले देशको अर्थ व्यवस्था सम्हाल्ने जिम्मेवारी पाएका थिए । जङ्गबहादुर कहिले इष्ट इन्डिया कम्पनीका पदाधिकारी भेट्न हिन्दुस्तान त कहिले बेलायत गएका बखत धर्मनारां सालमिले नै सम्पूर्ण अर्थतन्त्र हेर्नुपरेको थियो । केहि पछि तत्कालिन चीन र नेपालबीच युद्ध घोषणा भएको अवस्थामा धर्मनारां सालमिले युद्धको लागि खर्च हुने जम्माजम्मी अर्थ व्ययभारको आधि रकम व्यहोर्न तयार भएको समेत इतिहास छ । यस आधारले पनि साय्मि समुदायको इतिहास सरकारीनिकायसँग निकट रहेको देखाउँछ ।

नेपालभाषा व्याकरण अनुसार “साः” क्रियामा “मि” प्रत्यय जोडेर बनेको संयुक्त शब्द साःमि हो । साःको अर्थ तोरीको तेल पेल्ने कोल र मिको अर्थ मालिक भन्ने हुन्छ । त्यसैले पनि तोरीको तेल बनाउने कोल, कारखानाको मालिक साःमि हुन्छ । साःमि अपभ्रंस हुँदै सायमि शब्द निर्माण भएको बुझिन्छ । यस तर्कमा इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धरको पनि दाबी छ । यस्तै खालका तर्कलाई आधारित बनाउँदा भक्तपुर र काभ्रेबीचको सिमानामा अवस्थित ऐतिहासिक मानव बस्ती, सांगाको सन्दर्भ जोडिन्छ । दुई जिल्लाहरुको सीमावर्ती क्षेत्र सांगामा पछिल्लो समय सम्म पनि साय्मि समुदायको बसोबास छ । बनेपा अर्थात नेपालभाषाको शब्द अनुरुप भ्वँतका बासिन्दालाई भ्व“मि, टोखाकालाई टोखामि र सांगामा बस्नेलाई सांगामि भनिन्छ । यो अर्थमा सायमि  समुदायको बाक्लो बसोबास रहेको सांगामा बस्ने बासिन्दालाई सांगामि भनिएको छ । सांगामि शब्द पछिल्लो समय सायमि बनेको हो ।

एक समय मल्लकालिन राजाले तेल पेल्ने सालमिहरुलाई दण्डित गरेको किंवदन्ती छ । भक्तपुरका उनी तत्कालिन पाटन दरबार अगाडिको शिलास्तम्भ भत्काउन षड्यन्त्र गरेको आरोपमा दण्डित भएको जनश्रुती हो । चौधौं शताब्दी यता स–साना राज्यमा विभक्त तत्कालिन देशहरुबीच वैरभाव र वैमनस्यताको कारणले ती राज्यमा सामरिक दृष्टिकोणले व्यवहार गर्थे । भौतिक संरचना भत्काउने देखि धावा बोल्ने सम्मका कुकर्म हुन्थे । सोही दाउपेचमा उनी आरोपित सालमि परेको थियो । व्यक्ति विशेषले गरेको दण्ड स्वरुप सम्पूर्ण पाटनमा बसोबास गर्ने सालमिहरुलाई देश निकाला गरेको किंवदन्ती छ । ती पाटन छेउछाउका गाउँ अर्थात चित्लाङ, दक्षिणकाली वरपर, फर्पिङ सम्म बसाइ सर्न गएका थिए । हुन त तर्कको आधारले यसलाई जनश्रुतीबाट पुष्टि भए पनि तथ्यपरक भने होइन ।

पाटन नगर भित्र सालमि अर्थात साय्मि समुदायको बसोबास न्यून रहेको परिपेक्ष्यमा भने यसलाई केहि हद सम्म तर्कपरक किंवदन्तीको रुपमा स्वीकार गर्न सकिन्छ । ती तर्क विशेषलाई अधिकांस बुद्धिजीवीहरुले ठाडै अस्वीकार गरेका छन् । त्यस मध्ये सालमि समुदायलाई दण्डित र विभेद गरेको विषयमा भक्तपुरका विष्णुबहादुर मानन्धरको सहमति छैन । उहाँको भनाई अनुरुप भक्तपुरसँग अन्य सम्पूर्ण नगरको सम्बन्ध सुमधुर थियो र छ । परापूर्व काल देखि नै भक्तपुर र अन्य ठाउँका साय्मि समुदायबीच पारिवारिक सम्बन्ध रहेको उनी दाबी गर्छन् । मान गोत्रको आधारले पारिवारिक सम्बन्ध बिस्तारको लागि मार्ग प्रशस्त भएकोले दण्डित गरेको देखि देश निकाला सम्मको किंवदन्तीलाई तथ्यपरक नभएकोले स्वीकार्न नसक्ने उहाँको भनाई हो ।

पुख्र्यौैैली पेशा

bbbb

विश्व सभ्यताको परिपक्ष्यमा नेपालको उदाहरण पृथक छ । विश्व सम्पदाको सूचिमा सूचिकृत नेपालका सम्पदा तथा विभिन्न जात्रा, पर्व र जन्म देखि मृत्यु सम्मको समृद्धशाली संस्कारले यसलाई पुष्टि गरेको छ । नेपालको संस्कृति र संस्कार उत्कृष्ट भएकोले पनि सम्पूर्ण नेपालीले आफु सबल र सभ्य मानवको छवि सकेका छन् । यस्ता संस्कारसँग पुख्र्यौली पेशाको सम्बन्ध प्रगाढ छ । तोरीको तेल बनाउने र यसको प्रयोग प्रत्यक्ष रुपमा संस्कार र संस्कृतिसँग जोडिएकोले पनि यसलाई अझ अन्तरसम्बन्धित भन्न सकिन्छ । राजधानी काठमाडौं, ललितपुर, भक्तपुर, सांगा, खोकना, ठेचो, थिमि क्षेत्र मात्रमा सीमित नभएर उपत्यका बाहिरका मकवानपुर, वीरगञ्ज, विराटनगरमा तोरीको तेल बनाइन्छ । तिल, बदाम, भटमासको तेल भन्दा तोरीको तेल आदिकाल देखि पृथक विशेषतासँगै प्रयोग हुँदै आएको छ । स्वादिष्ट पकवान मध्ये नेवार खाना छ्वय्ला, कचिला, अचार तथा बारा बनाउन यो तेलको प्रयोग अधिक छ ।

बजारमा धेरै किसिमका तेल उपलब्ध भएता पनि यस्ता पकवानमा परम्परागत तरिकाले बनाएको तोरीको तेल नै प्रयोग हुन्छ । तोरीको तेललाई नेवार पकवान मात्रमा सीमित नगरी अन्य थुप्रै किसिमका खाना बनाउनेमा प्रयोग भएको उदाहरण छ । परम्परागत तेल मध्ये तिलबाट बनाइएको तेललाई जडिबुटी औषधिमा प्रयोग गरिन्छ । त्यस मध्ये एलोपेथिक उपचार प्रविधिमा भएको प्रयोग अधिक देखिन्छ । नेवार समुदायभित्र शिशु जन्मिँदा दैनिक रुपमा आमालाई जिउ मसाज गराउनेमा तोरीको तेल प्रयोग हुन्छ । आमासँगै शिशुलाई पनि घाममा राखेर जिउ मसाज गरिदिँदा शरिरभित्रको रक्त रञ्चार नियमित हुने बताइन्छ ।

beby

घर्षण न्यून बनाएर जिउ मसाज गर्नमा तोरीको तेल उचित हुने र तुलनात्मक फाइदाजनक हुने वैज्ञानिक आधारले दर्शाउँछ । शिशुको नाक, कान तथा नाभीमा अझ विशेष रुपमा तोरीको तेल लगाइदिएर घाम ताप्न लगाइन्छ । हानिकारक जिवाणु/किराबाट बच्न पनि यसको प्रयोग उचित छ । यसलाई नयाँ प्रविधिले पनि सहर्ष स्वीकार गर्न बाध्य छ । उपत्यका छेउछाउका जनजाती मध्ये तामाङ समुदायका सुत्केरीले परम्परागत तोरीको तेल थोरथोर गरी पिउने उदाहरण मनग्य भेटिन्छ ।

कला, संस्कृति, रितिथिति र संस्कारले भरिएको नेपाली समाजको अर्को महत्वपूर्ण पक्ष जात्रापर्व हो । विक्रम संवत् अनुरुपको माघे सग्रान्तिमा नुहाइ धुवाइ सकेर तोरीको तेल लगाउने हाम्रो आफ्नै मौलिक परम्परा छ । यसले पनि पर्वसँगको सम्बन्ध तोरी तेलमा रहेको प्रत्यक्ष रुपमा देखाउँछ । नेपाल संवत् अनुरुपको गुंपुन्हि अर्थात जनैपुर्णिमामा क्वाती (नौ किसिमका गेडागुडी राखेर पकाइने पकवान) मा तोरीको तेललाई झानेर खाने चलन छ । परम्परागत तोरीको तेलमा मेथि झानेर पिउँदा जिउभित्र तापक्रम सन्तुलित गराएर रोग निरोधक शक्तिलाई बढावा दिने तर्क गर्न सकिन्छ । तोरीको तेलको प्रयोग त्यति मात्रमा सीमित छैन बरु मानव जीवनको आस्थाको केन्द्र, मन्दिर, स्तूपा, चैत्य आदिमा दीप प्रज्वलन गर्न समेत प्रयोग हुन्छ । जात्रापर्वको बखत बालिने चिलाख (मुस्यां) को लागि पनि तोरीको तेल अधिक प्रयोग हुन्छ । इन्द्रजात्राको बखत काठमाडौंबासीले बौमत परिक्रमा गराउँदा देखि भक्तपुर र थिमिमा आकास बत्ती बाल्नेमा तोरीको तेल नै प्रयोग हुन्छ ।

सायमि समुदाय

उपत्यकामा बसोबास गर्ने सायमि समुदायले पुख्र्यौली पेशाको रुपमा तोरीको तेल बनाउँदै आएका छन् । यसलाई फरक कालखण्डमा नेपाल यात्रा गरेका चिनियाँ यात्रीहरुले पुष्टि गरेकोबाट प्रमाणित हुन्छ । इतिहासविद् प्रा. डा. त्रिरत्न मानन्धरले दिनुभएको जानकारी अनुरुप चिनियाँ यात्री वाङ ह्वाङसेले तत्कालिन नेपालमा तोरीको तेल उत्पादन भएको सम्बन्धमा वर्णन गरेका छन् । भक्तपुर र काभ्रे जिल्लाको सीमावर्ती क्षेत्र सांगामा अवस्थित ऐतिहासिक मानव बस्तीमा अभिलेख रहेको उहाँको दाबी छ । त्यसमा तत्कालिन नेपालको सौन्दर्य र आदिकाल देखि बसोबास गर्ने आदिवासीहरुको समेत वर्णन पाइन्छ । चिनियाँ यात्री ह्वासेले पुख्र्यौली पेशाको रुपमा तोरीको तेल उत्पादन भएको उल्लेख गरेका छन् । यो अर्थमा पछिल्लो समय सम्म पनि साय्मि अर्थात मानन्धर समुदायले तोरीको तेल बनाउने पेशालाई पुख्र्यौली पेशाको रुपमा अंगालेका छन् ।

आदिकालदेखि नेपालमा बसोबास गर्ने आदिवासी साय्मि समुदायले कोल (तेल पेल्ने कारखाना)मा तोरीको तेल बनाएर पुख्यौली पेशाको रुपमा ग्रहण गरेको आधारलाई राजा जयस्थिति मल्लको वर्ण व्यवस्थाले पनि पुष्टि गरेको छ । साझा प्रकाशनले पहिलो पटक २०३९ सालमा प्रकाशित गरेको डा. चन्द्रविक्रम बुढाथोकीको साभार लेख अनुसार चौधौं शताब्दीमा तत्कालिन नेपालमा शासन गरेका जयस्थिति मल्लले ४ जातको वर्ण व्यवस्था गरे । ब्राम्हण, क्षत्रीय, वैस्य र सुद्र मध्ये तेस्रो वर्णमा परेका सालमि अर्थात सायमिले तेल पेल्नु र बाबीयाले खट बाँध्नु भनी उल्लेख गरेका छन् । सोही लेखमा गुभाजु (बज्राचार्य)लाई बौद्धमार्गी धर्म अनुरुपको पूजाविधि गर्नु, छिपा (रंजितकार) लाई कपडा रंगाउनु, पुं (चित्रकार) लाई चित्र बनाउनु, कौ (नकर्मी) लाई फलामको औजार बनाउनु, नौ (नापित) लाई नङ र केश कटाउनु भनी उल्लेख गरेको छ ।

काठमाडौंको सवालमा नौ वटा टोलमा आदिकाल देखि सायमि समुदायको बाहुल्यता देखिन्छ । ती प्रत्येक टोलमा न्यूनतम एउटा तेल पेल्ने कारखाना भेटिन्छ । त्यस मध्ये चार वटा टोलको नामांकरण समेत (साः) तेल पेल्ने कारखानाको आधारमा राखिएको छ । लाय्कू सा, दै साः, न्हू साः र फल्चा साः यसका उदाहरण हुन् । ती सम्पूर्ण टोल काठमाडौंको बसन्तपुर दरबारदेखि दक्षिणी दिशामा अवस्थित छ ।

सायमि समुदाय मात्रले पुख्र्यौैली पेशाको रुपमा तोरीको तेल बनाउँछन् भन्ने आधारलाई खोकना र ठेचोमा ज्यापु समुदायले उत्पादन गर्ने तोरीको तेलले प्रतिवाद गरेको देखिन्छ । हुन पनि पछिल्लो समय “खोकना तेल”को रुपमा प्रसिद्धि कमाएको छ । जब कि साय्मि समुदायले पुख्र्यौली पेशाको रुपमा तेल पेल्ने आधारलाई यसले चुनौती दिएको छ । यस सम्बन्धमा थप अनुसन्धान भने जरुरी देखिन्छ ।

तेल बनाउन प्रयोग हुने कच्चा पदार्थ

teelfinal

उपत्यकामा धेरै थरिका तेल उत्पादन हुने सवालमा तोरीको तेल तुलनात्मक बढी परिमाणमा देखिन्छ । व्यापारीहरुले तत्कालिन समयमा राजधानी छेउछाउ, नेपालको तराई तथा चुरे भावर क्षेत्र वरपर उब्जनी हुने तोरीलाई अधिक प्रयोग गर्थे । त्यस मध्ये मकवानपुर र चितवनमा उब्जनी हुने तोरीलाई भिमफेडीको बाटो हुँदै चापागाउँ र बज्रबाराहीबाट ल्याइन्थ्यो । तेल बनाउन अधिक परिमाणमा कच्चा पदार्थ आवश्यक हुने कारणले पनि तराईको जिल्लाबाट तोरीलाई काठमाडौं भित्र्याइन्थ्यो ।

करिव १० प्रतिशत तोरी भने उपत्यका वरपरको काठ क्षेत्रमा उब्जनी हुन्थ्यो जुन आयातीत भन्दा गुणस्तरिय भएको दाबी छ । पछिल्लो केहि दशक यता भने मित्रराष्ट्र भारत र तेस्रो मुलुक मध्ये क्यानडा, अस्ट्रेलिया, पोल्याण्ड, डेनमार्क, यूक्रेनबाट समेत तोरीलाई आयात गरिँदै आएको छ । भारत बाहेक अन्य मित्र राष्ट्रबाट आयातित तेलको कच्चा पदार्थ अर्थात तोरीबाट उत्पादित तेलको परिमाण र गुणस्तर समेत कम हुने स्थानिय व्यापारी बताउँछन् । कच्चा पदार्थ आयात गर्नेमा नेपाली मूलका नागरिक कमै हुने गरेको तीतो सत्य समेत क्षेत्रपाटीमा तेल पसल व्यवसाय गर्ने व्यापारीले सुनाए ।

बनाउने तरिका

सायमि समुदायको पुख्र्यौली पेशाको रुपमा रहेको तोरीको तेल बनाउने ठाउँलाई स्थानिय भाषामा साः भन्ने सन्दर्भ यस अघि नै प्रष्ट भइसकेको छ । साः अर्थात तेल पेल्ने कारखानामा तोरीलाई पानीमा भिजाइन्छ । त्यस लगत्तै सुकाउनु पर्छ । निफनेर सफा गरेको तोरीलाई धुलो बनाए पश्चात ठूलो टावामा भुट्नु पर्छ । मज्जाले भुटेको तोरीको धुलोलाई निचोरेर तेल निकालिन्छ । यस विधिको लागि विभिन्न औजारहरु परम्परा देखि नै प्रयोग भएको देखिन्छ । त्यस मध्ये पू (तोरीको धुलो राख्ने भाँडो, पहिले राँगाको छालाबाट निर्मित अहिले प्लाष्टिकबाट बनेको), हासा (नाङलो, तोरी निफन्नको लागि), सलिंचा (तोरी शुद्धिकरण गर्नको लागि), ख“लय् बोरा (भिजाएको तोरीलाई सुकाउन प्रयोग हुने ठूलो आकारको बोरा), दाला (तोरी व धुलो राख्ने भाँडो), भाजं (फलामबाट निर्मित ठूलो आकारको टावा), च्वाफि (कुचो, धुलो सफा गर्ने), मुगःचा (तेल पेलिसकेर बनेको कडा बस्तु फुटाउन प्रयोग हुने काठबाट निर्मित औजार), ग“, (भुटेको तोरीको धुलो च्याप्ने ठाउँ), खुईं (तोरीको गेडा फन्छाउन प्रयोग हुने औजार) प्रयोग हुँदै आएको छ ।

धार्मिक मान्यता

पुख्र्यौली पेशाको रुपमा तोरीको तेल पेल्ने कारखानामा भैरवनाथ र हनुमानको प्रतीक बनाएर देउता प्रतिस्थापन गरेको देखिन्छ । भक्तपुर र मध्यपुर थिमिको सवालमा कारखानाभित्र भैरवनाथ र काठमाडौंमा हनुमान देउतालाई पुज्ने गरिन्छ । ढुङ्गेधाराको लामो आकृतिको शिलालाई जमिनमा आधा भाग गाडेर भैरवनाथको रुपमा पूजा गर्ने परम्परा भक्तपुरमा पुरानै हो ।

उपत्यकामा मनाइने येँयाः अर्थात इन्द्रजात्राको बखत कारखानाभित्र प्रतिस्थापित भैरवनाथको सोही शिलामा पूजा गरी भोज विधि चलाउनु पर्ने परम्परा छ । थिमिमा भने जिब्रो छेडाउने परम्परासँगै सोही क्षेत्रबाट यांमता (आकास बत्ती) निकाल्ने गरिन्छ । काठमाडौंका तोरी पेल्ने कारखानामा प्रतिस्थापित हनुमान देउतालाई फागुको चतुदर्शीको दिन पूजा गरिन्छ । त्यस मध्ये कतिपय ठाउँमा वडा दशैंको अष्टमिको दिन पूजा हुन्छ ।

विशेषता र महत्व

काठमाडौं मात्रमा पचास भन्दा बढी र मध्यपुर थिमिमा पनि बीसको हाराहारीमा तेल पेल्ने कारखाना थियो । तर पछिल्लो समय ती अधिकांस बन्द भएका छन् । कारखाना बन्द भएसँगै पुख्र्यौली पेशा संकटमा परेको छ । करिव पचास वर्ष यतादेखि तोरीको तेल उत्पादन गर्दै आएका थिमिका शहदेव मानन्धरले पुख्र्यौली पेशा संकटमा परेकोप्रति चिन्ता व्यक्त गरे । नयाँ प्रविधिबाट बनेको र ठूलो परिमाणमा बनेका तोरीको तेलले पुख्र्यौली व्यवसायलाई धरासायी बनाएकोमा उनी चिन्तित देखिन्छन् । विभिन्न संस्कार र औषधिजन्य जडिबुटि बनाउने समेत प्रयोग हुने तेल बनाउने पेशा धरासायी हुँदै गएकोमा सम्बन्धित व्यवसायीको गहिरो चिन्ता छ । समग्र नेपालीहरुको पहिचानलाई कला, संस्कृति, रितिरिवाजले धानेकोमा दुईमत नहोला । ती संस्कार र संस्कृतिमा नभइ नहुने यस्ता पुख्र्यौली पेशाबाट उत्पादित तोरीको तेलको महत्व र विशेषता मननयोग्य छ ।

(लेखक कृष्णकाजी मानन्धर (केके), संचारकर्मी तथा ख्वप कलेजको स्नातक तहमा पत्रकारिता अध्यापन गराउने आंशिकतर्फका लेक्चरर हुन् । उहाँले प्रा. डा. त्रिरत्न मानन्धर, विष्णुबहादुर, शहदेव, न्हुछेमान मानन्धरसँगको छलफल, गुगल, वीकीपेडिया तथा विभिन्न लेख÷रचना अध्ययन पश्चात यो लेख निर्माण गरेका हुन् ।)

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework